काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्त्वपूर्ण संकेत छाडेको छ । दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरू पूरा गर्नैपर्ने’ अडान दोहोर्याएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएका छन् ।
सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल(चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको छ ।
साझेदार बन्न सकिने सूत्र भनेर राष्ट्रपति सीले ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल’ को प्रस्तावनालाई दह्रिलो रूपमा विभिन्न बहुपक्षीय समझदारीमार्फत अघि बढाएका छन् ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल निकै महत्त्वको छिमेकी हो भनेर चीनले बाहिरी विश्वलाई देखाएको छ,’ पूर्वराजदूत केदारभक्त माथेमाले सी भ्रमणको मूल्यांकन सुनाउँदै भने, ‘कतैबाट पाइने सहयोग रकम अथवा सम्झौताका बुँदाभन्दा पनि आफ्ना लागि नेपाल महत्त्वपूर्ण छ भन्ने चीनको यो सन्देश आफैंमा ठूलो कुरा हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया