अन्तरिक्षमा सैनिक दौड सुरु

अन्तरिक्षमा सैनिक दौड सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अन्तरिक्षमा सैनिक दौड सुरु भएको छ । अमेरिकाले गत हप्ता मात्रै नयाँ अन्तरिक्ष विमानको सफल परीक्षण गरेसँगै यसलाई विज्ञहरुले अन्तरिक्षमा सैनिकीकरणको सुरुवातका रुपमा लिएका छन् । गत हप्ता अमेरिकी एयरफोर्सको एक्स–३७बी स्पेस प्लेनले कीर्तिमानी परीक्षण उडान सफलतापूर्वक गरेपछि सैन्य क्षेत्रका विश्लेषकहरुले यसलाई अन्तरिक्षमा सैनिकीकरणको सुरुवातका रुपमा लिएका हुन् ।

विश्वकै एकमात्र पुनप्र्रयोग गर्नसकिने एक्स३७बी विमान नासाको फ्लोरिडास्थित केप कानावरलमा रहेको केन्नेडी स्पेस सेन्टरमा आइतबार फर्किएको थियो । उक्त विमान ७ सय ८० दिन अन्तरिक्षमा अर्बिट (कक्ष) मा बिताएर पुनः पृथ्वीमा फर्किएको हो । अमेरिकी एयरफोर्सका अनुसार लक्षित उद्देश्य पूरा गरेर यो विमान पृथ्वीमा फर्किएको हो । उक्त विमानले स–साना स्याटेलाइट समेत लगेको जनाइएको छ ।

यो उडान मानवरहित स्पेस प्लेनको पाँचौँ र अहिलेसम्मकै लामो मिसन अन्तर्गतको हो । यसले तोकिएको अवधि पूरै अन्तरिक्षमा बिताउन सफल भएको थियो ।अमेरिकाले यसअघि पनि एउटा कार्यक्रम तय गरी मिसन सञ्चालन गर्दै आएको छ । जुन कार्यक्रम अन्तर्गत अर्बिटमा विमानले अहिलेसम्म २ हजार ८ सय ६५ दिन बिताइसकेको एससीएमपीले जनाएको छ । एयरफोर्सले अर्को वर्ष आफ्नो छैठौँ एक्स३७बी मिसनको तयारी गरेको बताएको छ ।

यद्यपि स्पेस शटलको तुलनामा अर्बिटल टेस्ट भेहिकल सानो हुने गर्छ । तर यसले लामो उडान गर्नसक्छ । यो खासगरी सैन्य प्रयोजनका लागि अनुकूल मानिन्छ ।एयरफोर्सका पूर्वसचिव हिथर विल्सनका अनुसार एक्स३७बीको क्षमता भनेको पृथ्वीको परिक्रमा गर्नसक्नु हो । आफ्नो कक्ष परिवर्तन गर्न यो पृथ्वीको वायुमण्डलनजिक पुग्ने उनले बताए ।

त्यस्तै हङकङका सैन्य विश्लेषक सोङ झोङपिङले अमेरिकाको नयाँ विमानको असाधारण क्षमता रहेकोले यसले अन्य स्याटेलाइटको जासुस गर्नसक्ने र पृथ्वीमा समेत आक्रमण गर्न सबल हुने बताए । यदि यसले सामान्य स्याटेलाइट बोक्नसक्छ भने आवश्यक हतियार पनि बोक्न सक्छ र अन्य स्याटेलाइट समात्न पनि सक्ने सोङको दाबी छ ।

हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका एक जना खगोलविद् जोनादन म्याडवेलले आइतबार सामाजिक सञ्जाल ट्विटरमा यस प्रकारका विमान अन्तरिक्षमा परिचालन गर्नु खतरनाक हुने चेतावनी दिएका थिए । अमेरिकाले यसको जानकारी समेत नदिनु यूएन रेजिष्ट्रेसन कन्भेन्सनको विपरीत भएको उनको भनाइ छ । अमेरिका र रुसले यसको उल्लंघन गरिरहेको उनको आरोप छ ।