महाराजगञ्जबाट पक्राउ परेका भीआईपी जुवाडे नछोड्न सर्वोच्चको आदेश

महाराजगञ्जबाट पक्राउ परेका भीआईपी जुवाडे नछोड्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना ‘भीआईपी’ जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई साथमै राख्न आदेश दिएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् ।

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको हो ।