काभ्रेपलाञ्चोक – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
देउवाले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देउवाले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे । अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् ।
देउवा त्यहाँबाट सिन्धुपाल्चोकको सुनकोशीस्थित ठोकर्पामा एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको बाघ भैरव माविको भवन उद्घाटन गर्न पुगेका छन् ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए ।
दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो । रासस




प्रतिक्रिया