काठमाडौं – संघीय संसद अन्तरगतको राज्य व्यवस्था समितिको मंगलबार बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे सिंहदरबारमा डाकिएको बैठकमा ५१ प्रतिशत सांसदहरुको उपस्थिति नभएपछि स्थगित गरिएको हो ।
आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची थियो । तर सांसदहरुको कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आएका थिए । उनीसँगै मन्त्रालयका सचिव यादवप्रसाद कोइराला पनि बैठकमा भाग लिन आएका थिए ।
तर एक घण्टा कुर्दा पनि सांसदहरु नआएपछि दुवैजना मन्त्रालयतर्फ लागे । ‘माननीयहरु आउनु भएन, दुर्भाग्य हामी निस्कनु पर्यो’, सचिव कोइराला यति भन्दै बैठककक्षबाट बाहिरिए ।




प्रतिक्रिया