उर्जामन्त्रीले गरे सिक्टा सिँचाइ आयोजनाको अनुगमन

उर्जामन्त्रीले गरे सिक्टा सिँचाइ आयोजनाको अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सिक्टा सिँचाइ आयोजनाको नहरको अनुगमन गरेका छन् । बाँकेमा रहेको आयोजनाको गुणस्तरहीन काम भएको पाइएपछि मन्त्री पुनले निरीक्षण गरेका हुन् ।

मंगलबार मन्त्री पुनसहितको टोलीले आयोजनाको निरीक्षण गरेको हो । मूल नहरमा गुणस्तरहीन काम भएको पाइएपछि उर्जामन्त्री पुुन आफैं फिल्डमा गएका हुन् । उर्जामन्त्री पुनले समयमा गुणस्तरिय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । ठेकेदार कम्पनीले गरेको काम नियमन गर्ने जिम्मेवारी पाएका आयोजना प्रमुखले अनुगमन नगर्दा मूल नहर क्षतविक्षत भएको स्थानीयको आरोप छ ।

६ वर्षमा (सन् २००९– २०१५ सम्म) पहिलो, दोस्रो र तेस्रो चरणमा गरी सिक्टाको मूल नहर बनाइएको हो । मूल नहरको अधिकांश काम (४२ किलोमिटर) सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो । निर्माण थालेको केही वर्षमै सुरु भएको भत्कने क्रम अझै जारी छ ।

५० क्युमेक्स पानी अट्ने गरी बनाइएको नहरमा ४–५ क्युमेक्स पानी चढाउँदा नै भत्कने गरेको छ । कालिकाले निर्माण गरेको पहिलो र दोस्रो खण्डको (०–३५ किलोमिटर) एक सयभन्दा बढी ठाउँको नहर भत्किएको छ ।

बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने लक्ष्यसहित निर्माण सुरु भएको उक्त आयोजनाबाट अहिलेसम्म किसानको खेतमा पानी पुग्न सकेको छैन । २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको सिक्टामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ ।