कास्की – कास्की–२ को उपनिर्वाचनमा उमेदवारी दिँदै कांग्रेसका प्रत्यासी खेमराज पौडेलले आफूले अनपेक्षित विजय हात पार्ने दाबी गरे ।
बिहीबार मनोनय दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण दिँदै आफूले पनि अप्रत्यासित जित हात पार्ने दाबी गरे ।
आक्रोश मिश्रित स्वरमा उनले प्रश्न गरे, ‘अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले जित्छन् भनेर कसैले ठान्या थियो ? बेलायतामा पनि कहिले लेबर पार्टीले जित्छ, कहिले कन्जरभेटिभ आउँछ ।’
उनले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित भएको तर्क गरे । उनले आफ्नो जितको आधार जनता भएको तर्क गर्दै भने, ‘यो चुनावले सरकार ढल्ने होइन । हामी सरकार ढाल्न पनि चाहँदैनौं ।’ कांग्रेस स्थिरताको पक्षधर भए पनि सरकारको गतिविधिले अस्थिरता सिर्जना भएको बताए ।
‘जनताले बलियो प्रतिपक्षी खोजेका छन् । त्यस्तै सरकारले प्रतिवद्धता पूरा नगरेकाले सबक सिकाएर सही दिशामा हिँडाउन खोजेका छन्’, उनले भने ।




प्रतिक्रिया