राप्रपाको कार्यबाहक अधयक्ष बुद्धिमान तामाङ

राप्रपाको कार्यबाहक अधयक्ष बुद्धिमान तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्रयाटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गरेकाले पार्टीको दैनिक कार्यसम्पादन गर्ने जिम्मेवारी तामाङलाई दिइएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी रुपमा सार्वजनिक गरेको नक्शा त्रुटीपूर्ण रहेकाले सञ्चाउन माग गरिएको छ । उक्त विज्ञप्तिमा सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नक्शा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।

दुई घनिष्ठ छिमेकीकाबीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा नहुने उल्लेख गरिएको उक्त विज्ञप्तिमा भारतबाट प्रकाशित राजनीतिक नक्शामा भएको त्रुटि सच्याउन र नेपालको भू–भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दू राष्ट्र स्थापनाका माग गर्दै जनकपुरको जानकी मन्दिरबाट आज रथयात्रा शुरु गर्न लागेको जनाएको छ । धनुषा महोत्तरी, सर्लाही वारा, पर्सा, मकवानपुर, चितवन हुँदै आगामी मङ्सिर ४ गते लुम्बिनीमा आएर सो रथयात्रा सम्पन्न गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए । यात्राका क्रममा जलेश्वर, गौर, कलैया, चितवन, कावासोती, भैरहवामा राजनीतिक सभा गरिने जनाइएको छ ।