काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेपाल ल क्याम्पसका सहप्राध्यपक गणेशदत्त भट्टलाई नियुक्त गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई नियुक्त गर्ने सहमति भएको हो ।
शुक्रबार नेताहरूको बैठकले भट्टको नाम टुंगो लगाएपछि सिफारिस समितिको बैठक बसेको थियो । लामो समयदेखि प्राध्यापन पेसामा रहेका भट्टको नाम देउवाले शीर्ष नेताको बैठकमा प्रस्ताव गरेका थिए ।
द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा निष्पक्ष छानबिन गर्न संक्रमणकालीन आयोगहरूमा पदाधिकारी निष्पक्ष रूपमा नियुक्त गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसविपरीत नेताहरूको सिफारिसमा आयोगमा नियुक्ति हुन लागेको हो ।
सत्य निरूपण तथा मेलमिलाप अयोग गठनसम्बन्धी ऐन, २०७१ मा पनि पदाधिकारीहरूको नियुक्तिमा राजनीतिक हस्तक्षेप नहोस् भन्ने निश्चित गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा पाँच सदस्यीय स्वतन्त्र सिफारिस समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको प्रमुखको पनि टुंगो लागेको छ । शीर्ष नेताहरुको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि एक जनाको नाम टुंगोमा पुर्याएका हुन् । उनको नाम भने गोप्य राखिएको छ ।




प्रतिक्रिया