काठमाडौं – समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषका लागि धन्यवाद व्यक्त गरेका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गरेका थिए ।
यो उद्घोषका लागि सोमबार पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधामन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।
उनले कालपानीबाट भारतीय सेना हटाउन युद्ध र कुशल कूटनीतिबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै रणनीतिलाई सम्बोधन नगरेको आरोप समेत लगाएका छन् ।
‘कालापानीबाट भारतीय सेना हटाउने भनेर सार्वजनिक रुपमै साहसिक उद्घोष गरेकोमा म प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष भट्टराईले ट्विटरमा भनेका छन्, ‘तर, यो कि युद्ध कि त एक कुशल कूटनीतिबाट मात्र सम्भव छ । सत्तामा रहेका व्यक्तिले यसरी सार्वजनिक रुपमा दिएको मन्तव्यले माथि उल्लेखित कुनै रणनीतिलाई सहयोग गर्दैन ।’
उनले प्रधानमन्त्री ओलीलाई कालापानी विवाद कुटनीतिक वा युद्ध कुन रणनीतिबाट हल गर्ने हो भन्ने कुराको निक्र्यौल गर्न समेत सुझाब दिएका छन् ।





प्रतिक्रिया