काठमडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सन्तोषजनक रुपमा काम गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालय मातहतका विभागको आज पर्यटन बोर्डमा बसेको बैठकमा विभागको कामकारबाही प्रति असन्तुष्ट जनाउँदै मन्त्री भट्टराईले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका हुन् ।
लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गर्ने मन्त्री भट्टराईले बताए । ‘काम भएन भने विभागीय प्रमुखको परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला’ उनले भने ।
राजनीतिक नियुक्ती लिएर विभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न उनले निर्देशन दिए । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला, उनले भने, ‘राम्रो काम गर्नु हुँदैन भने तत्काल राजिनामा दिनुस्, राम्रो काम गर्ने कर्मचारीलाई थप सुविधा दिएर प्रोत्साहन गछौं ।’
भ्रमण वर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? त्यो कार्ययोजना मंसिर ११–१२ मा प्रस्तुत गर्न उनले निर्देशन समेत दिए । काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइने उनले बताए ।




प्रतिक्रिया