मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन


काठगमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्र्दै चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो । सारंगी बज्छ । तर काम भएको छैन । अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ । एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन । सबैले समवन्य गरेर काम गर्नुपर्‍यो ।’

केही महिना अगाडी सडकमा धुलो उडेको बताउँदै सरकारको विरोध गर्न मास्क लगाएर हिँडेको उनले बताएका थिए । आज भने ओलीले सडकमा धुलो उडेको स्वीकार्दै भने, ‘निर्माण कार्य हुने स्थानमा धुलो छ । तर, निर्माण कार्य नभएको स्थानमा कसरी धुलो उडिरहेको छ ? गएको चार महिनामा हामीले ५० प्रतिशत काम पनि गर्न सकेनौं । अब चार महिनामा त्यो भन्दा धेरै काम गर्नुपर्छ ।’

उनले मन्त्रीलाई पैसा कमाउने धन्दामा बद्नामी नकमाउन निर्देशन दिए ।

‘कतिपय देशको भन्दा हाम्रो देशमा मन्त्रीहरूको तलब माथि छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, ‘हामीले हाम्रो देशका श्रमिकलाई हेर्नुपर्छ । एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफूलाई काममा बिलम्ब कदापि स्वीकार्य नहुने निर्देशन दिएका छन् ।

‘जनताले गफ होइन काम र त्यसको प्रतिफल चाहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘उपयुक्त र उचित समयमा उचित मूल्यमा काम गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement