युवा संघले नेकपा उम्मेद्वारलाई प्रचार सामाग्री बाँड्यो

युवा संघले नेकपा उम्मेद्वारलाई प्रचार सामाग्री बाँड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरुलाई चुनाव प्रचार सामग्रीहरु वितरण गरेको छ । डिजिटल र छापा प्रचार सामाग्रीहरु बनाएर नेकपाका उम्मेदवारहरुलाई सहयोग गरेको युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

‘सामाजिक सन्जाल केन्द्रित फोटो, भिडियो र उम्मेदवार केन्द्रित पोस्टर तथा स्टिकरलगायतका प्रचार सामाग्री बनाएर हाम्रा उम्मेदवारहरुलाई सहयोग गरेका छौं,’ उनले भने ।

कास्की क्षेत्रनम्बर २ मा यस्ता प्रचार सामग्री १६ हजार, दाङको क्षेत्रनम्बर ३ ‘ख’ मा १० हजार पोस्टर र दुई हजार स्टिकर, भक्तपुर क्षेत्रनम्बर २ ‘क’ मा पाँच हजार पोस्टर र पाँच हजार स्टिकर , धरान उपमहानगरपालिकामा पाँच हजार स्टिकर, पाँच हजार पोस्टर, क्याप र ब्याच, पाँचथर, हुम्ला र महोत्तरीमा तीन–तीन हजार पोष्टर र स्टिकर उपलब्ध गराइएको युवा संघ अध्यक्ष सापकोटाले बताए ।

युवा संघले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आफ्नो पार्टीका सबै उम्मेदवारहरुलाई उपनिर्वाचनमा सघाउन किरण पौडेलको नेतृत्वमा केन्द्रीय चुनाव प्रचार प्रसार उपसमिति बनाएको छ । उपसमितिमार्फत निर्वाचन प्रचार सामग्री बनाउने र वितरण हुँदै आएको छ ।

सबै क्षेत्रमा युवासंघका नेताहरु चुनावी प्रचार अभियानमा खटिएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा जिल्ला पार्टीले नै युवा परिचालन गरेको छ । जसअनुसार कास्कीमा सुमन देवकोटा, दाङमा मनोहर बुढाथोकी, भक्तपुरमा दिनेश थपलिया, धरानमा पूर्ण भुजेलको नेतृत्वमा युवा टोली परिचालित छ ।