पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन् ।
पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भरखरै भएकोले त्यस्तै प्रकृतिको प्रथा नेकपाले रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा उनकी पत्नी विद्या भट्टराईलाई चुनावमा उठाएर दोहोर्याएको आरोप छ ।
‘गणतन्त्रमा रवीन्द्र अधिकारीको योगदान महत्त्वपूर्ण छ,’ उनले भने, ‘अहिले त्यै योगदान मिसिएको गणतन्त्रमाथि प्रहार गर्ने खेल कास्की २ को उपनिर्वाचनमा भइरहेको छ। विद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्रमाथिको प्रहार हुनेछ ।’
गगनले रविन्द्रको सम्मान गर्न उनको परिवारले जान्नुपर्ने बताए । उनले भने, ‘प्रविण गुरुङकाण्डमा पारस शाहविरुद्ध उत्रिएका रवीन्द्र परिवारतन्त्रका विरोधी हुन् । त्यसलै रवीन्द्रको सम्मान गर्न यो परिपाटिको अन्त्य हुनुपर्छ ।’
उनले गणतन्त्रलाई थप संस्थागत गर्न कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई जिताउनुपर्ने बताए । ‘यो निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई सत्तामा पुर्याउने र नेकपाको सत्ता गिर्ने पनि होइन,’ उनले भने, ‘कास्की २ का जनताले सहानुभूतिका आधारमा मतदान गर्नुहुनेछैन । देशको लागि दिएको योगदानको पनि मनन गर्नुहुनेछ ।’
उनले सहानुभूतिले देश र घर दुवै नचल्ने भन्दै रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले भने, ‘हामीलाई रवीन्द्र दाइको निधनप्रति दुःख छ । तर, रवीन्द्र दाइको सपना उनका परिवारले पूरा गर्ने होइन, कास्कीका जनताले पूरा गर्ने हो । जसका लागि खेमराज पौडेल जस्तो छवि भएका अरू कुनै उम्मेदवार नै छैनन ।’
्




प्रतिक्रिया