काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताएका छन् ।
बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताए ।
नेपालका भूमि समावेश गरेको नक्सा हामीलाई मान्य छैन । जुनसुकै पहल लिन तयार छौं भनेका थियौं । पहल सुरू भइसकेको छ,’ उनले भने ।
उनले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको बताउँदै त्यसलाई समाधान गर्न सरकारले काम गरिरहेको पनि बताए ।
प्रचण्डले नेकपाका दुई अध्यक्षको कार्यविभाजन भएपछि पार्टीमा कुनै दुविधा नरहेको पनि बताए ।
‘एक जनाले सरकार (ओलीजी)हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ उनले भने, ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन ।’
प्रचण्डले वाम गठबन्धनलाई कायम राख्न बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरिएको बताएका छन् । उनले पार्टी निर्णयको अवज्ञा नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
‘चुनाव जित्नु ठूलो कुरा होइन, चुनाव जितिन्न भनेर होइन, वामगठबन्धन कायम राख्न, राजमोसँग मिलेर साझा उम्मेदवार उठाएका हौँ,’ उनले भने ।
उनले एउटा पदका लागि मित्रतामा दरार पार्न नसकिने पनि बताए । नेकपाले राजमोका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि जिल्ला कमिटीमा असन्तुष्टि देखिएको थियो ।
यद्यपि वागी उम्मेदवार बनेकाले पनि केन्द्रको दबाबमा साझा उम्मेदवारलाई नै समर्थन गर्ने बताएका छन् । उनले बाग्लुङको विकासमा आफूले सघाउने वाचा पनि गरे।




प्रतिक्रिया