काठमाडौं – जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले मधेशीहरूमाथि अझै विभेद कायमै रहेको बताएका छन् ।
शनिबार भृकुटीमण्डपमा भएको रंगभेदविरूद्ध एकता सभामा राउतले काठमाडौंका गल्लीहरूमा धोती लगाउनेहरूमाथि विभेद गर्न नहुने बताए ।
‘रंगभेदविरूद्ध हामी अझै सशक्त रूपमा लाग्नुपर्नेछ,’ उनले भने, ‘धोती लगाउनेहरूमाथि काठमाडौंका गल्लीमा विभेद हुनु हुँदैन ।’
राउतले भने, ‘२००७ सालको क्रान्ति सप्तरीको हनुमाननगर जेलबाट शुरु भएको हो। जनयुद्धा जलेश्वरबाट शुरु भएको हो । आन्दोलनका समयमा काँग्रेसका नेताहरुलाई बसमाती चामल खुवाउने मधेशी नै हुन् । कम्युनिस्टका नेतालाई प्रशिक्षण दिने मधेशी नै हुन् । माओवादी जनयुद्ध पनि मधेशबाट शुरु भएको हो ।’
उनले हरेक परियोजनाहरु खोक्रो राष्ट्रवादीले विदेशीलाई बेचेको आरोपसमेत लगाएका छन् । ‘कोशी बेच्ने मधेशी थिएनन् । लिम्पियाधुरा बेच्ने मधेशी थिएन । यो खोक्रो राष्ट्रवादीले बेचेका हुन् । खोक्रो राष्ट्रवादीहरुले वृतान्त धेरै लामो छ । राष्ट्रवादी त मधेशी हुन् । सेनामा बन्देज लगाए पनि प्रहरीमा बन्देज लगाए पनि बिना बर्दी सीमा रक्षामा उभिएका छन् । देवनारायणजस्ता शहीदहरुले रगत बगाएर सीमा रक्षा गरेका छन् ।’




प्रतिक्रिया