काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारका प्रवक्ता एवम् सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गतिलो जवाफ दिएका छन् ।
पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाले आरोप लगाएका थिए ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले देउवाको आरोपलाई चुनावी मसला भन्दै उनले आफू सत्तामा छँदा देउवाले भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि प्रश्न उठाउँदै भने, ‘हाम्रो भाषा लब्ररिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।’
राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।
‘प्रमुख प्रतिपक्षी जस्तो जिम्मेवार दलका प्रमुख नेताले यस्तो आरोप लगाउनु भयो होला भन्ने मलाई पटक्कै विश्वास छैन, यदि त्यस्तो लगाउनु भएको हो भने उहाँको बारेमा हामीले पनि केही गम्भीर प्रश्नहरु उठाउनुपर्ने हुन्छ’ प्रत्रकारसँग बोल्दै उनले भने, टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो ? भनेर प्रश्न गर्दै उनले भने, ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।’




प्रतिक्रिया