काठमाडौं – शनिबार हुने उपनिर्वाचनका लागि दलहरूले बुधबार चुनावी प्रचारलाई तीव्रता दिएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै तीन वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ । अहिले पोखरामा रहेका प्रचण्ड केहीबेरमा धरान उड्नेछन् । त्यसपछि उनी हेलिकप्टरबाटै काठमाडौं फर्केर भक्तपुरको चुनावी सभामा पुग्ने कार्यक्रम छ ।
हेलिकप्टर चुनावी क्षेत्रमा भने नलैजाने उनको सचिवालयले जनाएको छ । पोखरा जाँदा प्रचण्ड हेलिकप्टरबाट विमानस्थलसम्म गएका छन् । उनी इटहरीमा हेलिकप्टर राखेर गाडीमा धरान जानेछन् । त्यहाँबाट त्रिभुवन विमानस्थल आएर उनी भक्तपुर जानेछन् ।
निर्वाचन आयोगले बुधबार राति १२ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ । बिहीबारदेखि मौन अवधि सुरू हुनेछ । चुनावी प्रचारका कार्यक्रमहरू गर्न पाइने छैन ।
एक संघीय क्षेत्र, तीन प्रदेशसभा, धरान उपमहानगरलगायत रिक्त स्थानीय तहमा शनिबार मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।




प्रतिक्रिया