एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र

एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 कैलाली – कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ। थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको हो।

थेगिमले ०७३ सालमा कञ्चनपुरको साविक जिल्ला सदरमुकाम बेलौरीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने २९ किलोमिटर सडक कालोपत्रेको ठेक्का पायो। दुई प्याकेजमध्ये पहिलो १४ किलोमिटरको ०७३ भदौ १७ र १५ किलोमिटरको ०७५ पुस ११ गते सम्झौता भयो।

आठ करोड तीन लाखको पहिलो प्याकेज (कलुवापुरदेखि १४ किलोमिटर) को म्याद ०७५ जेठ १५ मा सकिएको छ। १० करोड १७ लाखको अर्को प्याकेजको म्याद पनि ०७५ असार १५ गते सकिएको छ। पहिलो प्याकेजमा १२ प्रतिशत प्रगति भएको छ भने दोस्रोको कामै भएको छैन।

०७५ माघ १० गते प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उक्त सडक कालोपत्रेका लागि प्रदेश पूर्वाधार विकास मन्त्रालयले काम नगरेको भन्दै चालू आवमा थेगिमलाई १० लाख बजेट विनियोजन गरेको छ। संघीय सरकारको जिम्मेवारीमा रहेका बेला थेगिमले पहिलो ठेक्काबाट एक करोड दुई लाख र दोस्रो ठेक्काबाट २० लाख रकम बुझिसकेको पूर्वाधार विकास कार्यालय धनगढीले जनाएको छ।

संघीय सरकारले पनि काम लगाउन नसकेको थेगिमले ०७६ असारमा पूर्वाधार विकास कार्यालयलाई एक वर्षको म्याद थप्न निवेदन दिएको छ। ‘सरकारले अन्तिम पटक म्याद थप्न दिएको निर्देशनअनुसार हामीले पूर्वाधार विकास मन्त्रालयमा सिफारिस गरेका छौं। थेगिमको रबैया हेर्दा काम होला जस्तो छैन’, पूर्वाधार विकास कार्यालय कैलालीका इन्जिनियर धीरेन्द्र भट्टले भने।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।