काठमाडाैं – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रधानमन्त्री खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका हुन् ।
उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आएको बताएका छन् ।
‘सबै ठीकठाक छ, इम्प्रुभ भइरहेको छ खाना खान शुरू गर्नुभएको छ,’ डाक्टर सायमीले भने, ‘हिँड्न शुरू गर्नुभएको छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ ।’
डाक्टर सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेपनि आईसीयूमै राखेर आगन्तुकलाई भेट्न नदिइएको बताए ।
प्रधानमन्त्री ओलीको उपचारको भावी रणनीति तय गर्न बिहीवार नै चिकित्सक र विशेषज्ञहरूको छलफल पनि भएको थियो ।
नियमित डायलासिसको प्रक्रियामा रहेका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापश्चात दुईपटक डायलासिस गरिसकिएको छ ।




प्रतिक्रिया