काठमाडौं – निर्वाचन आयोगले १ बजेसम्म ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले लोकान्तरसँग कुरा गर्दै १–२ ठाउँमा छिटफुट घटना भएको भएपनि मतदान उत्साहजनक रहेको बताएका छन् ।
‘कहीँकेही अप्रिय जस्तो देखिने घटना भएको छ,’ कास्की र डोटीका केही ठाउँमा बम विस्फोट भएको घटना सुनाउँदै श्रेष्ठले भने, ‘तर ती सामान्य घटना थिए । त्यसले मतदानको प्रक्रियालाई खासै असर गरेनन् ।’
उनले १ बजेसम्म करीब ५० प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिए । ‘अहिलेसम्म करीब ५० प्रतिशत मतदान सम्पन्न भएको छ,’ श्रेष्ठले भने, ‘यहीँ गतिमा अघि जाने हो भने देशभरको उपनिर्वाचनमा करीब ७० देखि ७५ प्रतिशतसम्म मतदान हुने हाम्रो अनुमान छ ।’
त्यो संख्या थोरै भएन र भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘७५ प्रतिशत मतदान हुनु भनेको ठूलो कुरा हो । यसअघिका उपनिर्वाचनहरूमा पनि त्यो भन्दा कम नै मतदान हुने गरेको थियो ।’
देशभर सुरक्षा व्यवस्था दुरुस्त पारिएको श्रेष्ठले बताए । ‘निर्वाचनमा सुरक्षाका कारण कोही मतदान गर्न गएनन् भन्ने स्थिति छैन,’ उनले भने, ‘छिटफुट घटना हुनु सामान्य हो । त्यसबाट कुनै क्षति भएन । तत्कालै परिस्थिति नियन्त्रणमा आयो ।’
मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।
कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचनको मतदान जारी छ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचनको मतदान जारी छ ।
विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् ।
त्यस्तै, भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ । ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन जारी छ ।




प्रतिक्रिया