थबाङमा ५ घण्टामा ६० मत खस्यो, विप्लव समूहद्वारा बहिस्कार

थबाङमा ५ घण्टामा ६० मत खस्यो, विप्लव समूहद्वारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रिक्त रहेको रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि शनिबार बिहानबाट मतदान सुरु भएको छ । थबाङस्थित वीर बलभद्र माविमा मतदान स्थल तोकिएकोमा त्यहाँ दुई वटा मतदान केन्द्र तय गरिएको छ ।

बिहानैदेखि थबाङमा शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि मतदान भएकोमा ५ घण्टाको अवधिसम्म (मध्यान्ह १२ बजेसम्म) करीब ६० वटा मत मात्रै खसेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्र क मा ३२ र ख मा २७ मत खसेको जनाएको छ । निर्वाचन केन्द्रका सबै मतदाताको संख्या १ हजार २ सय ७४ छ । मतदान सुरु समयदेखि नै केही मतदाताहरु मतदान स्थलमा आइपुगेका थिए । मुख्य निर्वाचन अधिकृत एवं रोल्पा अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मतदान स्थलको वातावरण शान्तिपूर्ण रुपमा भएको बताए ।

थबाङ–१ का वडा अध्यक्ष फर्कबहादुर बुढामगरको गत असार ६ मा ब्रेन हृयाम्ब्रेजका कारण काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । सो वडामा अध्यक्ष सहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।

हाल उम्मेदवारी फिर्ता लिइसकेका स्थानीय भद्रकुमार झाँझीले अध्यक्ष पदमा निर्वाचन लड्न सदस्य पदबाट राजीनामा दिएका थिए । सबै ५ वटा वडा रहेको थबाङमा १ नम्बर वडा बाहेक सबै पदाधिकारी सत्तापक्षीय नेकपाका पदाधिकारीले जितेका थिए ।

चन्द समूहको बाक्लो प्रभाव भएको ठानिएको थबाङमा निर्वाचन सुरक्षाको उच्च व्यवस्था मिलाइएको छ । मतदान स्थलको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । निर्वाचन सुरक्षाका लागि करीब ५ सयको संख्यामा सबै सुरक्षाकर्मी परिचालित भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

अध्यक्ष पदमा निर्वाचन लड्न वडा सदस्य पदबाट राजीनामा दिएका स्थानीय भद्रकुमार झाँक्रीले अन्तिम अवस्थामा मनोनयन फिर्ता लिएपछि चन्द समूहका समर्थक मतदाताले निर्वाचन बहिस्कार गरेका छन् ।

अध्यक्ष पदका लागि सत्तारुढ नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र कांग्रेसका तर्फबाट कलम रोकामगर चुनावी प्रतिस्पर्धामा छन् ।