काठमाडौं – धरान उपमहानगरपालिकामा पराजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले त्यहाँ निर्धारण गरिएको कर घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ ।
मंगलबार बसेको नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले धरान उपमहानगरमा निर्धा्रित करको दर पुनरवलोकन गरी घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको हो ।
बैठकपछि निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतको हस्ताक्षरमा जारी विज्ञप्तिमा निर्वाचनका बेला जनताका घरदैलोमा जाँदा कर वृद्धि गरेको भन्दै जनताले व्यापक असन्तुष्टि जनाएकाले धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि लागू् गरिएका करका दर पुनरवलोकन गरी तत्काल घटाउन निर्देशन जारी गरिएको उल्लेख छ ।
धरान उपमहानगरपािलकाको मेयरका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका हुन् ।
यसअघि उक्त उपमहानगरपालिकामा तत्कालीन नेकपा एमालेका तारा सुब्बा मेयर थिए । उनको निधन भएपछि यही मंसिर १४ गते धरानमा पनि उपनिर्वाचन गरिएको थियो ।
विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार सुब्बासँग फराकिलो मत अन्तरले पराजित कांग्रेसका तिलकले यसपटक ऐतिहासिक बाजी मारेका हुन् । उनले २६ हजार ७०९ मत ल्याए भने प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार प्रकाशले २३ हजार ९१४ मत पाए ।





प्रतिक्रिया