काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अस्वस्थ भएर चीन भ्रमण रघ गरेको बताएका छन् ।
बिहीवार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री स्वस्थ भएर नियमित काम गर्ने स्थितिमा फर्केपछि मात्र चीन भ्रमणमा जाने आशय व्यक्त गरेका हुन् ।
‘प्रधानमन्त्री डिस्चार्ज हुनेबित्तिकै नियमित काम गर्न सक्ने भन्ने होइन । उहाँ पूर्ण रूपमा स्वस्थ हुन अझै एक–डेढ महिना लाग्न सक्छ । त्यसैले मैले चीन भ्रमण स्थगन गरेको हुँ’, प्रचण्डले भने, ‘मैले अन्तर्राष्ट्रियकरण गर्नै हुँदैन भनेको होइन, प्रक्रिया अनुसार जानुपर्छ भनेको हो । अहिले कूटनीतिक पहल गरौं र भएन भने बल्ल अन्तर्राष्ट्रियकरण गरौं भनेको हुँ ।’
प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता नेपाललाई बोलाएर सीमासम्बन्धी विषयमा कुरा गर्न भारत जानुपर्यो भनेर भनेको सत्य रहेको प्रचण्डले बताए ।
‘प्रधानमन्त्रीले उहाँलाई बोलाएर भारत जानुपर्यो भन्नुभएको साँचो हो, यो बाहिर आइसकेको छ,’ प्रचण्डले भने, ‘त्यसको निम्ति आवश्यक पर्ने प्रक्रिया, भारतसँग हुनुपर्ने पत्राचार, भेटघाटको सुनिश्चितता फाइनल भइसकेको छैन ।’
प्रचण्डले आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको पनि दाबी गरे ।
जहाँ जानुभयो त्यहीँ आन्दोलनमा बस्छु, अनशनमा बस्छु भन्नुहुन्छ, कारबाही गर्ने कि अनशनमा बस्ने ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन । दुई ठाउँमा भनेको छु । जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दुःख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु ।’
उनले पिपरामा बाटो नबने अनशनमा बस्ने बताएका हुन्। ‘जहाँ मैले अनशन बस्छु भनेपछि हाम्रो पार्टीले चुनाव पनि जित्यो। जनतालाई भरोसा पनि भएको छ,’ उनले भने, ‘म साँच्चै बस्छु पनि फेरि । त्यो बाटो समयममा बनेन भने। त्यस्तो ठाउँमा गएर भनेको हो, जहाँ पनि अनशन बस्छु भन्ने कुरा होइन। भन्ने भए यहीँ पनि भन्थे नि !’




प्रतिक्रिया