कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीयतामै चुनौती देखियो : प्रचण्ड

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीयतामै चुनौती देखियो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी— नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’  प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेकालाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको बताए।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘उनै मूख्य सचिव, उनै सचिव (राजनीतिक परिवर्तन अघिका) अनि कसरी हुन्छ परिवर्तन ?’

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्दै अध्यक्षले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने बताए।

अध्यक्षले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि बताए। राजनीतिकरुपमा ठूला–ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती र्छियो पुच्छर अड्क्यो भनेजस्तै भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

०६२/६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका अध्यक्षले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताए।

कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका उनले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताए।