गण्डकी – ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’
गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । उनले संसद्भि त्रै आफूहरूमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसभित्रै हामीमाथि यौनहिंसा भएको छ, तर इज्जतको डरले सहन बाध्य छौं ।’
पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले भनिन् ।
पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उनले गुनासो गरिन् । ‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’
उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उनले प्रश्न गरिन्, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।
पुरुष सांसदहरू बोल्ने क्रममा पनि जिस्किएर, हिंसात्मक रूपमा प्रस्तुत हुने गरेको अरू महिला सांसदले गुनासो गरे । ‘पुरुष सांसद हामीसँग बोल्दा सांसदको हैसियतभन्दा फरक ढंगले बोल्छन्,’ अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्ने, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्ने, पुरुषले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया