काठमाडौं – सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपसभामुखबाट शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाउने तयारी गरेको छ । तर, तुम्वाहाम्फेले तत्कालिन सभामुख कृष्णबहादुर महराको गल्तीका कारण आफू सती जान नसक्ने बताउँदै आएकी छन् ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कारको आरोपमा महरा पक्राउ परेपछि सभामुख पद रिक्त छ । नेकपाले उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पद आफैं राख्ने तयारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसदको हिउँदे अधिवेशन आह्वान गरेपछि सभामुख चयन प्रक्रिया पनि अगाडि बढ्दै गएको छ ।
सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान छ । उपसभामुखले राजीनामा नदिँदा सत्तारुढ नेकपाले सभामुख पद छोड्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने भएकाले उपसभामुखले राजीनामा दिएर नेकपाकै अर्का एक नेतालाई सभामुख बनाउने तयारी गरिएको नेकपानिकट स्रोतले जानकारी दियो ।
उपसभामुखले भने आफूले गल्ती नगरेका कारण महराको सजाय भोग्न तयार नभएको बताएकी छन् । ‘महराले गल्ती गरे भने त्यसको सजाय मैले पनि पाउनुपर्छ भन्ने छैन् । किनकी म महराको गल्तीका कारण सती जान तयार छैन्’, उनले भनिन् ।
पार्टीले निर्णय गरेमा उनले उपसभामुखबाट सती जानुपर्ने निश्चित छ । तुम्वाहाम्फेले सार्वजनिक प्रतिक्रिया जस्तो दिए पनि पार्टीको अन्तिम निर्णय मान्न तयार हुनुपर्ने नेकपाका एक जना नेताले बताए ।
‘मिडियालाई उहाँले कस्तो प्रतिक्रिया दिनुभयो त्यसमा अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम हुनेछ । त्यसैले उहाँले राजीनामाका लागि मानसिक रुपमा तयार हुनुपर्छ’, नेकपाका एक नेताले काठमाडौंपाटीसँग कुरा गर्दे भने ।
नेकपाभित्र कसलाई सभामुख बनाउने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्म दुईवटा नाम चर्चामा छन् । पूर्वएमालेबाट पूर्वसभामुख सुवासचद्र नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।
स्रोतकाअनुसार नेम्वाङलाई सभामुख बनाउने तर्क एकथरीको छ भने नयाँलाई स्थान दिनुपर्ने तर्क अर्कोपक्षको रहेको छ । सभामुखको विषयमा आफूलाई नबोल्न आदेश आएको भन्दै नेम्वाङले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
सभामुखको टुंगो लगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बृहत छलफल हुने भएको छ । त्यसपछि मात्र सभामुख को बन्ने भन्ने टुंगो लाग्नेछ ।
को बन्ला उपभामुख ?
त्यस्तै नेकपाले सभामुख राख्ने भएपछि उपसभामुख फरक पार्टीबाट बन्ने निश्चित छ । नेकपाले कांग्रेस बाहेकको दललाई उपसभामुख दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उपसभामुख आफूहरुले पाउनुपर्ने तर्क अगाडि सारेको छ ।
नेकपाले आफ्ना सहयोगी साना दललाई उपसभामुख दिने तयारी गरेको छ । नेकपाले राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने तयारी गरेको हो । उपनिर्वाचनमा नेकपा र राजमोबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने नेकपाको तयारी छ ।
नेकपाबाट पुरुष सभामुख हुनेपछि अर्को दलले महिला उपसभामुख पाउनेछ । राजमोबाट उपसभामुखमा दुर्गा पौडेलको नाम चर्चामा छ ।




प्रतिक्रिया