काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६६ वर्ष लागेका छन् ।
पिता मुक्तिराम दाहाल र माता भवानी दाहालको जेठो छोराको रुपमा वि.स. २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ मा जन्मिएका अध्यक्ष प्रचण्ड ६५ पुगेर ६६ वर्षमा प्रवेश गरेका हुन् । प्रारम्भिक शिक्षा ढिकुरपोखरीबाटै सकेको प्रचण्डले २०२६ सालमा चितवनबाट एसएससी उत्तिर्ण गरेका थिए ।
पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरे । त्यसपछि चितवनकै रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी उत्तिर्ण गरेका थिए । अध्यक्ष प्रचण्डले एमपिए पूरा गरेका छन् ।
प्रचण्डका तीन छोरी र एक छोरा रहेकामध्ये दुई जनाको निधन भइसकको छ । गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका प्रचण्ड १० वर्षे सशस्त्र संघर्षको नेतृत्व गर्दै तीन करोड जनताको राज्यकै बागडोर सम्हाल्ने अवस्थामा आफूलाई ल्याई पुर्याउन सफल भएका छन् ।
यस्तो छ प्रचण्डको राजनीतिक यात्राः
वि.सं. २०२८ मा नेकपा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएका प्रचण्डले वि.सं. २०३१ मा हालका गृहमन्त्र रामबहादुर थापा बादलसहितको समूहसँग मिलेर माक्सवादी अध्ययन समूह गठन गरे ।
उनी वि.सं. २०३६ मा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । वि.सं. २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव बनेको प्रचण्ड ४० सालमा अखिल नेपाल युवक संघको अध्यक्ष बन्न सफल भए । वि.सं. २०४८ मा नेकपा (एकता केन्द्र)को महामन्त्री बने ।
वि.सं. २०५१ मा भएको राष्ट्रिय सम्मेलनले पार्टीको नाम फेरि नेकपा एकता केन्द्रबाट नेकपा (माओवादी) राख्ने निर्णय गरेका प्रचण्डले ५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । वि.सं. २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्षमा निर्वाचित भए ।
वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वाेच्च कमान्डर चयन भए ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवन त्याग्दै खुला राजनीतिमा आए । त्यसपछि उनी ०६५ मा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री निर्वाचित भएका उनी ०७३ सालमा पनि प्रधामन्त्री बने ।
वि.सं. २०७४ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापश्चात् उनी पार्टीको अध्यक्ष छन् ।




प्रतिक्रिया