प्रधानमन्त्रीका सल्लाहकारको २० सहसचिवसंग सामुहिक छलफल

प्रधानमन्त्रीका सल्लाहकारको २० सहसचिवसंग सामुहिक छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका दुई जना सल्लाहकारहरुले विभिन्न मन्त्रालयका कर्मचारीहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रालयका प्रवक्ताहरुलाई बोलाएर सरकारका राम्रा कामलाई प्रेसमार्फत प्रवाह गर्न निर्देशन दिएका हुन् ।

छलफलमा प्रधानमन्त्रीका विदेश मामिला हेर्ने सल्लाहकार राजन भट्टराई उपस्थित भएपनि सरकारका प्रवक्ता समेत रहेका सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल बांस्कोटा भने सहभागी थिएनन् ।

मन्त्री बांस्कोटाले हरेक विहिवार विभिन्न मन्त्रालयका प्रवक्ताहरुको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको पहलमा विभिन्न मन्त्रालयका प्रवक्ताहरुलाई छलफलमा बोलाइएको हो ।

प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले यसअघि मन्त्रालयका सचिवहरुलाई बोलाएर बिफ्रीङ लिएको र मन्त्रीहरुलाई समेत छलफलमा बोलाएको भन्दै उनको आलोचना भएको थियो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा विहिवार भएको छलफलमा प्रधानमन्त्री कार्यालयका दुई जना सचिवसहित २० जना प्रवक्ता वैठकमा सहभागी थिए । करिब डेढ घण्टा चलेको छलफलमा उनिहरुले मन्त्रालयबाट भएका सकरात्मक कामलाई प्रचार गर्न र नकरात्मक कामलाई निरुत्साहित गर्न प्रवक्ताहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीका सल्लाहकारहरुले निजामती सेवाका सहसचिव समेत रहेका प्रवक्ताहरुलाई बोलाएर सामुहिक छलफल गरेको यो पहिलो घटना हो ।

सल्लाहकारहरुले सामूहिक रुपमा बोलाएकोमा निजामती सेवाका सहसचिवहरुले असन्तुष्टि प्रकट गरेका छन् ।‘ राम्रो कामको लागी छलफल गर्नु ठिकै होला तर, सल्लाहकारुले नै बोलाएर निर्देशन दिनु राम्रो परम्परा होईन ।’ छलफलमा सहभागी एक सहसचिवले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव यमलाल भुसालले भने मन्त्रालयले गरेको कामकारबाहीलाई व्यवस्थित पार्ने र सूचना प्रवाहलाई सहज बनाउने विषयमा छलफल भएको र यो स्वभाविक भएको बताए ।