वनमन्त्रीले स्पेनमा भने ‘हरितगृह ग्यांसको कटौती गरौ, पेरिस सम्झौताको कार्यान्वयन गरौ’

वनमन्त्रीले स्पेनमा भने ‘हरितगृह ग्यांसको कटौती गरौ, पेरिस सम्झौताको कार्यान्वयन गरौ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन–२०१९ का विभिन्न कार्यक्रममा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीका पक्षराष्ट्रहरुको २५ औं सम्मेलनको रुपमा रहेको यो सम्मेलनको उदघाटनसंगै ५० देशका राष्ट्रप्रमूखहरुको उपस्थितिमा जलवायु महत्वकांक्षा गोलमेच समेत गरिएको थियो ।

अति कम विकसित राष्ट्रहरुको जलवायु परिवर्तन सम्वन्धी समूहले पनि शुरुवाती देखिनै सक्रिय रुपमा भाग लिदै आएको छ। नेपालले मूख्यत एलडिसी, जी ७७ र चाइनासमूह मार्फत आफ्ना मुद्दाहरुलाई एकिकृत रुपमा प्रस्तुत गर्ने गरेको छ।

सम्मेलनको दोस्रो हप्ताको उच्चस्तरीय समारोहलाई संवोधनका क्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतले जलवायु परिवर्तन विश्वका लागि गम्भिर चुनौती रहेको भन्दै पेरिस सम्झौताको कार्यान्वयनमा कुनै कसर बांकी नराख्ने गरी समाधानको वाटो तयार गर्नका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । उक्त समारोहमा १६३ देशको तर्फवाट राष्ट्रप्रमूख र मन्त्रीहरुले मन्तव्य व्यक्त गरेका थिए ।

मन्त्री वस्नेतले हानी-नोक्सानीका लागि व्यवस्थित संरचना र वित्तिय संयन्त्रको आवश्यकताका साथै दिर्घाकालिन वित्तिय व्यवस्थालाई विकसित देशहरुले प्राथमिकतामा राखी विकासोन्मूख र संकटाग्रस्त देशहरुलाई सहयोग गर्न तत्पर हुनुपर्नेमा जोड दिए ।

नेपालले जलवायु परिवर्तन सम्वन्धी राष्ट्रियस्तरमा नीतिगत, कानूनी र संरचनागत उल्लेखनिय कार्यहरु गरिरहेको, न्यूनिकरणका लागि जलविद्युत र नवीकरणीय ऊर्जा प्रवर्द्धन र प्रयोगलाई जोड दिईरहेको र विद्युतीय यातायातको अभियान समेत शुरु गरिसकेको मन्त्री वस्नेतको भनाई थियो ।

उनले पेरिस सम्झौता अनुसारको तापक्रम सिमितता कायम गर्ने महत्वाकांक्षी योजना चालु अवस्थामा पुरा हुन नसक्ने भएकोले विकसित राष्ट्रहरुले हरितगृह ग्यांसको तत्काल भारी कटौती गर्नुपर्नेमा जोड दिए ।

मन्त्री वस्नेतले वारा पर्सामा आएको टोर्नाडोको समेत उक्त सम्मेलनमा चर्चा गरेका छन् । उनले जलवायु परिवर्तनका कारण नयां र विशिष्ट प्रकृतिका पूर्वानुमान गर्न नसकिने मौसमी घटनाहरुले ठुलो हानी नोक्सानी गरिरहेको भन्दै नेपालमा गत मार्चमा आएको टोर्नाडोका कारण करिव १ घण्टाको अवधिमा नै ३० जनाले अकालमै ज्यान गुमाउनु परेको र लाखौको क्षति भएको बताए । यस प्रकृतिका जलवायुजन्य प्रकोपहरु भविश्यमा जुनसुकै समय र स्थानमा घट्न सक्ने भएकोले यसवारेमा सवैले सोच्नुपर्ने र आवश्यक व्यवस्थाका लागि सवै सहमत हुनुपर्ने धारणा राखे ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन-२०१९ को अवशरमा चिन सरकार, वातावरण मन्त्रालय र दक्षिण दक्षिण सहयोगका लागि संयुक्त राष्ट्रसंघको कार्यालयको संयुक्त रुपमा आयोजना गरेको जलवायु परिवर्तन सम्वन्धी उच्चस्तरीय सम्मेलनमा समेत मन्त्री वस्नेत सहभागी भएका थिए ।

विकासोन्मुख राष्ट्रहरुमा न्यून कार्वन र हरित अर्थतन्त्र रुपान्तरणका लागि दक्षिण-दक्षिण सहयोग मार्फत सहयोग प्रवद्र्धन गर्ने ध्येय राखिएको थियो। उक्त कार्यक्रममा नेपाल सहित ७ देशका वातावरण मन्त्रीहरुको उपस्थिति रहेको थियो। उक्त अवशरमा जलवायु परिवर्तन सम्वन्धि ज्ञान, सीप र प्रविधिको सुदृढीकरण र हस्तान्तरण गर्नका लागि सहकार्य प्रवद्र्धन गर्नेमा सहभागीले जोड दिएका थिए ।

उक्त सम्मेलनमा मन्त्री वस्नेतले दक्षिण दक्षिण सहकार्य र रणनैतिक जलवायु कोषको आर्थिक सहयोगमा नेपालले पारिस्थिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना कार्यान्वयन गरिसकेको जानकारी दिए । नेपालले सदैव दक्षिण-दक्षिण सहकार्यका लागि हातेमालो गर्दै सक्रिय सहभागिता गर्ने बताउंदै मन्त्री वस्नेतले यस सहकार्यले आउंदा दिनमा गरिब र जलवायु संकटासन्न देशका समस्या समाधानका लागि सवल भुमिका निर्वाह गर्नसक्ने दृढ विश्वास व्यक्त गरे ।

यसैगरी अन्तराष्ट्रिय पर्वतिय दिवसको उपक्ष्यमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम र अन्र्तराष्ट्रिय पर्वतिय एकिकृत विकास केन्द्रद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा समेत मन्त्री वस्नेत सहभागी भए । कार्यक्रममा उनले पर्वतीय क्षेत्र जलवायु परिवर्तनका कारण गम्भिर संकटमा परिरहेको विषयलाई विश्व समुदायले विशेष प्राथमिकता दिनुपर्ने विषय उजागर गर्दै अनुसन्धान र खोजलाई यस क्षेत्रमा केन्द्रित गर्ने र तथ्यपरक र व्यवस्थित वैज्ञानिक खोजका लागि विश्व समुदायसंग अनुरोध समेत गरे ।

विश्व मौसम संगठनको अगुवाईमा हालै सम्पन्न उच्च पर्वतीय सम्मेलनको आह्वानहरुलाई समर्थन र स्वागत गर्दै उनले उक्त विषयलाई हाल चलिरहेको जलवायु परिवर्तन सम्मेलनले पनि आत्मसात गर्दै महत्व दिनुपर्ने कुरामा जोड दिए ।

यसैगरी नेपाल सरकार, प्रयाक्टिकल एक्सन नेपाल, स्वच्छ ऊर्जा नेपाल र प्रकृति रिसोर्स सेन्टरद्वारा संयुक्तरुपमा आयोजित दक्षिण एसिया क्षेत्रमा क्षति-नोक्सानी समावेशित मूल्याङ्कन र कार्य विषयक कार्यक्रममा समेत मन्त्री वस्नेतले मन्तव्य व्यक्त गरे ।

वर्षेनी घट्ने प्राकृतिक प्रकोपहरुमध्ये अधिकांस प्रकोपहरु जलवायुजन्य रहेको र सोको क्षति दक्षिण एसिया क्षेत्रमा पनि यसको समस्या व्यापक र विशिष्ट रहेको कुरामा ऐक्यवद्धता जनाउंदै नेपाल जस्ता मूलूकहरु भौगोलिक विविधता र आर्थिक-सामाजिक क्षमता अभावका कारण जलवायु जन्य प्रकोपहरुको मार दिनानुदिन वढ्दै गएको धारणा व्यक्त गरे ।

तापक्रममा भईरहेको नियमित वृद्धिले जलवायुजन्य प्रकोपहरु उच्च हिमाल र पर्वतीय क्षेत्रमा प्रभाव वढेकोले तल्लो तटिय क्षेत्रका वासिन्दाहरु उच्च जोखिममा रहेको र यसको समाधानका लागि विकसित राष्ट्रहरुले विज्ञानले देखाएको समाधनको वाटो अपनाई हरितगृह ग्यास उत्सर्जन न्यूनिकरण गर्नुको विकल्प नरहेको मन्त्री वस्नेतको धारणा थियो ।