काठमाडौं – पछिल्लो समय देखिएको विवाद समाधान गर्न नेपाली कांग्रेसका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । सोमबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेर छलफल गरेका हुन् ।
आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि असन्तुष्ट पक्षलाई मनाउन भन्दै नेताहरुले छलफललाई निरन्तरता दिएका हुन् । केहीबेर अघिदेखि चाक्सीबारीमा नेताहरूबीच छलफल भइराखेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएका छन् । तर सभापति देउवा पक्षले समायोजनको काम पूरा नै नभएको भन्दै अहिले नै कार्यतालिका प्रकाशित गर्न नहुने बताएको छ ।
पौडेल पक्षले आइतबारको बैठक बहिस्कार गरेपछि बैठक केहीबेर चलेर सोमबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो ।




प्रतिक्रिया