सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयन गर्न सकेनः डिला संग्रौला

सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयन गर्न सकेनः डिला संग्रौला


काठमाडौं – नेपाली कांग्रेसकी छाया श्रममन्त्री डिला संग्रौलाले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग गरेको दाबी गरेकी छन् ।

श्रममन्त्री रामेश्वर राय यादवलाई भेटेर सरकारले चालेका श्रमसम्बन्धी विभिन्न योजनामाथि प्रश्न उठाएकी छन् । आज सिहंदरबार पुगेर छाया श्रममन्त्री संग्रौलाले सरकारका विभिन्न योजना र लक्ष्य कार्यान्वयनमा नआएको ध्यानाकर्षणसमेत गराइन् ।

श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यलयमा पत्रकार सम्मेलन गर्दै संग्रौलाले गरिन् ।

सरकारले गर्ने कामको श्वेतपत्र जारी गर्न आग्रह गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भयो। योजना र लक्ष्यअनुसार कार्यन्वयन भएन । बाटो सफा गर्ने र बाँदर धपाउन किन दुरुपयोग गरेको ?’

संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग गरी पोलपोलमा प्रधानमन्त्रीको फोटो टाँसेर शुरु गरेको नयाँ युग कहाँ आइपुग्यो भनी प्रश्नमसेत गरिन् ।‘कांग्रेसले शुरु गरेको सामाजिक सुरक्षा कोष आफ्नै जसरी प्रचार गरेको थियो। पोलपोलमा फोटो टाँसेर नयाँ युग भन्नुभयो । तर नयाँ युग शुरु भएन’, उनले भनिन् ।

सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै उनले यसबारे सरकारको धारणासमेत मागेकी थिइन् ।

उनले वैदेशिक रोजगारमा ‘फ्रि भिसा फ्रि टिकट’ एजेन्डा माथि पनि सरकारले काम नगरेको आरोप लगाइन् । उनले श्रमिकहरुले न्यूनतम पारिश्रमिक नपाएको भन्दै मन्त्रीसँग जवाफ मागेको उनले बताइन् ।

‘सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयन गर्न सकेन । नयाँमन्त्रीलाई यो विषयमा जानकारी गराएकी छु उहाँले सकारात्मक प्रतिक्रिया दिनु भएको छ’ पत्रकार सम्मेलनमा संग्रौलाले भनिन्, ‘सरकारमाथि हामीले खबरदारी गरिरहेका छौं ।’