काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ । माघ ९ गते हुने मतदानका लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो ।
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ ।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।
यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।





प्रतिक्रिया