काठमाडौं – सत्तारुढ निकट विद्यार्थी संगठन अनेरास्ववियूले पीडित विद्यार्थीका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।
विद्यार्थीहरुका जायज मागहरुमा अनेरास्ववियूको समर्थन रहेको सहसंयोजक रञ्जित तामाङले जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सहसंयोजक तामाङले संघर्षरत विद्यार्थीहरुको जायज मागहरुलाई अविलम्ब सम्बोधन गर्न नेपाल सरकार , लोकसेवा आयोग , त्रिवि सेवा आयोग लगायतका अन्य सम्वद्ध निकायसँग माग गरेको छ ।
‘नियमनकारी निकायको प्रभावकारी अनुगमनको अभावमा तोकिएको मापदण्ड विपरीत मनपरि र स्वेच्छाकारी शुल्क लिने कम्प्युटर साइन्स् र सुचना प्रविधि सम्वद्ध कलेजहरुको छानवीन गरि वढि लिएको शुल्क तत्काल खारेज गर्न र वैज्ञानिक शुल्क निर्धारण गर्न समेत माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
उनले लोकसेवा आयोग लगायतका राज्यका अन्य विभिन्न निकायहरुले गरेको विज्ञापनले आफुहरुलाई अन्यायमा पारेको , हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापक पदको परिक्षा त्रुटिपूर्ण भएको र आइटि शिक्षालाई ब्यवस्थित गर्न आइटि काउन्सिल गठन गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षरत सिएसआटि ( कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी ) का विद्यार्थीहरुको जारी आन्दोलनप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
लोकसेवा आयोगले विगत वर्षहरुमा सुचना प्रविधि क्षेत्रका विद्यार्थीलाई स्पष्ट रुपमा सम्बोधन गरेर विज्ञापन खुलाउने गरेको थियोे । तर यसपटक त्यो प्रावधान हटाइएको छ । यसैगरी केही समय अघि त्रिवि सेवा आयोगले कम्प्युटर साइन्स र सुचना प्रविधि विषय समेतको विज्ञापन खुलाएको तर परिक्षामा सम्पुर्ण रुपमा पाठ्यक्रम विपरीत प्रश्न पत्र सोधेकाले त्यस क्षेत्रका सवै विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए ।




प्रतिक्रिया