एजेन्सी – पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड कार्यान्वयन हुनुअघि उनको मृत्यु भएमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ ।
मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचारहरूले जनाएका छन् ।
अदालतले फैसला कार्यान्वयन गर्नुअघि नै मुसर्रफको मृत्यु भएमा उनको शवलाई संसदसम्म घिसार्दै ल्याएर तीनदिनसम्म झुण्डाउन आदेश दिएको हो । मुसर्रफका वकिलले त्यसविरुद्ध पुनरावेदनमा जाने बताएका छन् ।
उनी विरुद्धको देशद्रोहको मुद्धा २०१३ देखि विचाराधिन अवस्थामा थियो । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । उनलाई संविधानको उलङ्घन गरेको र जवरजस्ती सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ ।
‘तर यदि त्यसअघि नै उनको मृत्यु भएको पाइएमा उनको शवलाई इस्लामावादको डी–चोकसम्म घिसार्दै ल्याउनु र झुण्ड्याउनु’ भनी आदेश दिएको रोयटर्सले जनाएको छ । सो चोक संसद भवनको बाहिरपट्टि रहेको छ ।
कानुनविद्हरुले भने त्यो आदेश सांकेतिक भए पनि असंवैधानिक बताएका छन् । पूर्वसैनिक मुशर्रफले १९९९ अक्टोबरमा विद्रोह गरेर सत्ता हातमा लिएका थिए । २००१ जुनमा उनले आफैलाई राष्ट्रपति घोषित गरे ।
मुशर्रफ २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए । उनले २००७ मा संकटकाल लगाएर देशद्रोह गरेको अदालतको निश्कर्ष छ । उनका वकिलले भने पुनरावेदन गर्ने बताएका छन् । ७६ वर्षीय मुशर्रफ उपचारका लागि युएईमा छन् ।
अदालतको यो फैसलामाथि पाकिस्तानको सेनाले कडा बिरोध गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले वक्तव्य जारी गर्दै परवेज मुशर्रफको बिरुद्धमा अदालतको फैसलाबाट सेनालाई धक्का लागेको छ र यो अत्यन्त दुःखद भएको बताएका छन् ।




प्रतिक्रिया