काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो तथा परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप शान्ति–सुरक्षाको व्यवस्था गर्न प्रहरीसमक्ष माग गरेका छन्।
राणाका छोरा सचिन्द्र शमशेर जबराले राणाको तर्फबाट काठमाण्डु उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै थप सुरक्षा व्यवस्था गर्न आग्रह गरेका हुन्।
निवेदनमा हाल देशको अवस्था तथा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण राणा र उनको परिवारले असुरक्षा महसुस गरिरहेको उल्लेख छ।
राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारणसमेत आफूलाई थप असुरक्षाको महसुस भएको निवेदनमा उल्लेख गरिएको छ।
‘सामाजिक सञ्जाल लगायत मिडियाहरूमा आएका कतिपय शान्ति सुरक्षा संग सम्बन्धित प्रश्नहरूको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौँ। मेरो विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथि थप असुरक्षाको महसुस भएको छ।यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’ निवेदनमा भनिएको छ ।




प्रतिक्रिया