काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताएका छन् । उनले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी गरेको विषयमा चुप बस्न नमिल्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले भनेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौंस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ । राज्य दोहनको चरम उदाहरण हो यो । मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाप्रति समेत प्रश्न उठाएका छन् । फेसबुक स्टाटसमा लेख्दै काइरालाले ‘यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन । यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ ।’




प्रतिक्रिया