दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमती ‘विप्लव’ समूहकाे अपहरणमा

दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमती ‘विप्लव’ समूहकाे अपहरणमा


दैलेख – दैलेखमा एक दम्पनी अपहरणमा परेका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला मल्ल शाही अपरहणमा परेका हुन् ।

उनीहरुलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले शनिबार राति अपहरण गरेका सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै ठाटीकाँध गाउँपालिका अध्यक्ष तथा नेकपाका जिल्ला कमिटी सदस्य धीरबहादुर शाही र नेराशिसंकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको खबरले स्तब्ध भएको जनाएका छन् ।

ठाँटीकाँध–२ को श्रीपाटामा रहेको आफ्नै घरबाट विप्लव कार्यकर्ताले मध्यराति शाही दम्पत्तिलाई अपहरण गरेर बिजारेको जंगल हुँदै कालीकोटको भर्तांतिर लिएर गएको जनाएका छन । ‘दैलेखमा डीएस्पी हरि ओली, सुर्खेतमा डीआइजी पूर्णचन्द्र जोशी र काठमाडौंमा गृहसचिव प्रेम राईसँग समन्वय भइरहेको छ,’ रिजालले लेखेका छन्, ‘लेकमा हिउँ परेको छ, दैलेखको तिलेपाटा र कालीकोटतिरबाट पनि प्रहरी परिचालन भइसकेको छ ।’

रिजालले विप्लवका कार्यकर्तालाई राजनीतिक व्यवहार गर्न र अपहरित शाही दम्पत्तिलाई अविलम्ब रिहा गर्न आग्रहसमेत गरेका छन् । इला स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकसमेत हुन् । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले यसअघि नै अध्यक्ष शाहीलाई चेतावनी पत्र दिएको थिए ।