बसको ठक्करबाट पशुपति क्याम्पसमा अध्ययनरत युवतीको मृत्यु, चाबहिल क्षेत्र तनावग्रस्त

बसको ठक्करबाट पशुपति क्याम्पसमा अध्ययनरत युवतीको मृत्यु, चाबहिल क्षेत्र तनावग्रस्त


काठमाडौं – काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ ।

भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले उनको उपचारका क्रममा मृत्यु भएको पुष्टी गरेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पु‍र्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको बोगटीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत थिइन् ।

बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र अन्य केही विद्यार्थीलाई पक्राउ गरिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।