गणेश लामा पक्राउ पर्दा विजय गच्छदारको चासो !


काठमाडौं – प्रहरीले प्रयोग गर्ने पेस्तोल गुन्डा नाइके गणेश लामाको हातमा पुगेको रहस्य खुलेको छ। बुधबार राति गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा जिम गर्न पुग्दा ‘७.२२ एमएम टाइप ५४’ चाइनिज ठूलो पेस्तोलसहित लामा समातिएका थिए। उक्त पेस्तोल नेपालमा प्रहरीले मात्रै प्रयोग गर्दै आएको छ।

गोली पड्किएको आवाज सुनेपछि प्रहरी पुग्दा लामा पेस्तोल लिएर बसिरहेको जानकारी प्रहरीले दिएको छ। लामाबाट बरामद पेस्तोल प्रहरीले मात्रै प्रयोग गर्ने भएकाले उनले कसरी फेला पारे भन्नेसमेत छानबिन अगाडि बढ्ने भएको छ। द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले प्रहरीबाट लुटिएको हतियार बिक्री हुँदै लामाको हातमा पुगेको आशंका प्रहरीले गरेको छ।

लामाले भने बरामद हतियार आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन्। उनले दुई जनाको नाम पोले पनि प्रहरीले गोप्य राखेको छ। लामाको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापाले भने, ‘लामाले आफूलाई आक्रमण गर्न आउनले पेस्तोल छाडेर भागेको र प्रहरीलाई बुझाउन खोज्दा आफू पक्राउ परेको बताएका छन्। तर हामीले लामाबाटै पेस्तोल बरामद गरेकाले मुद्दा चलाउँछौं।’

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार लामा आफैंले हतियार बोकेर हिँडेको र कसैलाई तर्साउन खोज्दा पड्किएपछि प्रहरीसामु नाटक गरेका हुन्। बिहीबार परिसर टेकु र्पुयाइएका लामाले बरामद हतियार आफ्नो नभएको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न मानेका छैनन्। लामाका सहयोगीले प्रहरीले जबर्जस्ती पक्राउ गरेको भन्दै पूर्वगृहमन्त्री एवं कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई जानकारी गराइसकेका छन्। लामालाई परिसरमै भेट्न पुगेका उनका सहयोगीले गच्छदारलाई घटनाक्रम जानकारी गराइसकेको जनाउ दिएका थिए।

बुधबार राति पक्राउ परेका लामालाई १० दिन थुनारमा राखेर अनुसन्धान गर्ने अनुमती जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिएको छ। लामामाथि हातहतियार तथा खरखजानामा अनुसन्धान अगाडि बढेको प्रहरीको भनाइ छ। अाजकाे अन्नपुर्णपाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement