काठमाडौं – हाँडीगाउँ। पुरानो उक्ति छ- ‘कहीं नभएको जात्रा हाँडीगाउँमा।’ तर यसको पुरानो नाम अर्कै थियो। बदलिएर कसरी हाँडीगाउँ हुन पुग्यो, धेरैलाई थाहा नहुन सक्छ।
संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘कुनै समय धोबीखोलानजिकै फाँटमा अण्डी जातको धान प्रशस्त उत्पादन हुन्थ्यो। नेवार समुदायमा पाहुना आउँदा सोही धानको भात खुवाउने चलन थियो। त्यसले उक्त क्षेत्रलाई अण्डीग्राम भनिन्थ्यो।’ उनका अनुसार हाँडीगाउँको प्राचीन नाम अण्डीग्राम भएको १२ औं शताब्दीको अभिलेखबाट पत्ता लागेको छ। इटालीका पुरातत्वविद्ले गरेको अध्ययनबाट यो तथ्य भेटिएको जोशीले बताए। टोलमा विष्णु मन्दिर रहेकाले हरिग्राम पनि भनिन्थ्यो। बदलिँदै, बिग्रंदै यो हाँडीगाउँ हुन पुग्यो।
राजधानीका थुप्रै ठाउँका मौलिक तथा स्थानीय नामको इतिहासै मेटिने गरी परिवर्तन भइरहेको बताउँछन् संस्कृतिविद् जोशी। कुनै ठाउँको नाम जनजिब्रोलाई सजिलो हुने गरी परिवर्तन गरिएको छ। कुनैको नाम अपभ्रंश भई परिवर्तन भएका छन्। कतिपय ठाउँको नाम राजनीतिक व्यवस्था परिवर्तन हुँदा दस्ताबेजबाटै हटाइएका छन्। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया