नेकपा सभामुखमा अझै जुटेन सहमति, शुक्रबारको बैठक स्थगित

नेकपा सभामुखमा अझै जुटेन सहमति, शुक्रबारको बैठक स्थगित


काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा शुक्रबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने पहिलो कार्यसूची रहेको शुक्रबारको बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले १६ गतेका लागि बोलाएकी छन् ।प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी बैठक स्थगित भएको छ । १६ पुसमा बस्नेगरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

‘राजनीतिक सहमति नजुट्दा शुक्रबारको संसद् बैठक स्थगित गर्नुपरेको हो,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘संसद्को बैठक बस्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने समयमा नेकपाका नेताहरूले बैठक स्थगित गर्ने प्रस्ताव ल्याएपछि उपसभामुखले सूचना टाँस गरेर बैठक स्थागित गर्न निर्देशन दिनुभयो ।’ शुक्रबार कार्यव्यवस्था समितिको बैठक नै नबोलाई नेकपाका नेताहरूले गरेको आग्रहका आधारमा नै उपसभामुखले बैठक स्थगित गरेको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन् ।

प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनको प्रक्रिया हुन्छ । तर, सत्तारूढ नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक सारिएको हो । नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर नेताले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन प्रस्ताव गरिरहेका छन् । ‘अहिलेसम्म अध्यक्ष दाहालले पूर्वएमालेलाई सभामुख दिने भनेर कुनै संकेतसम्म गर्नुभएको छैन,’ दाहाल पक्षधर एक नेताले भने, ‘एकताअघिको शक्ति बाँडफाँटका बेला सभामुख हामीलाई परेकाले हाम्रो दाबी स्वाभाविक हो ।’ याे समाचार राजधानी दैनिकमा छ ।