देशलाई उत्तर कोरिया बनाउन जनताले बहुमत दिएको होइन : प्रवक्ता शर्मा

देशलाई उत्तर कोरिया बनाउन जनताले बहुमत दिएको होइन : प्रवक्ता शर्मा


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोध गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने गरी सरकारले ल्याएको विधेयकविरुद्ध खुलेर बोल्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सहन तयार रहेको तर जिस्क्याउने व्यक्तिलाई जेल पठाउन आफू तयार नभएको बताएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, “सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन,” प्रवक्ता शर्माले भने, “कैद पाँच वर्ष र जरिवाना १५ लाख, के यो सही छ ? छैन भने खुलेर बोलौं, जमेर बोलौं ।”

उनले जनताले देशलाई उत्तर कोरिया बनाउन नेपाल कम्यनिस्ट पार्टी (नेकपा) लाई बहुमत नदिएको पनि जिकिर गरेका छन् ।  ‘@PM Nepal नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ,” उनले लेखेका छन् ।

आइतबार संसदको विकास तथा प्रविधि समितिले पारित गरेको विद्येयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा पाँच वर्ष जेल वा १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।