काठमाडौं – ३ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । चितवनमा कार्यरत मल्ललाई सरुवा भएको स्थान सुरक्षा निर्देशनालयमा जान निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले अझै पनि जिल्ला छोडेका छैनन् । मल्लले सरुवा भएर आएको ९ महिनामा नै फेरी सरुवा भएको भन्दै असन्तुष्टी जनाएका थिए । प्रदेश कार्यालयले मल्ललाई पत्र काटेर सरुवा भएको स्थानमा जान निर्देशन दिएको हो ।
आईजीपी सर्वेन्द्र खनालले गृहसचिव प्रेमकुमार राईसँग नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग मल्लको सरुवा गरेको भन्दै रिपोर्टिङ गरेका थिए । पछि प्रचण्डले सरुवाको एक वर्ष नपुगेको भन्दै असन्तुष्टी जनाएका थिए । त्यसपछि गृहसचिव राई र गृहमन्त्री रामबहादुर थापा बादलको बैठक बस्यो । त्यसपछि आईजीपी खनाललाई तत्काल सरुवा रोक्न निर्देशन दिए ।
मल्ल नेकपा अध्यक्ष प्रचण्डनिकट मानिन्छन् । प्रचण्डको पीएसओ हुँदा मल्ल डीएसपी थिए । मल्लको ठाउँमा पठाइएकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डविरुद्ध गरेको टिप्पणीले विवादमा आएकी थिइन् ।





प्रतिक्रिया