काठमाडौं – आइतबारदेखि घाम लागेको काठमाडौंमा मंगलबारदेखि फेरि बादल र वर्षा हुने सम्भावना देखिएको छ ।
सोमबारदेखि नेपालमा फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशैभरिको मौसम प्रणालीमा प्रभावित हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्नेछ ।
‘पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ,‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
महाशाखाका अनुसार यो प्रणाली शुक्रबारसम्मनै रहनेछ । बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अनुरोध गरेको छ ।
शनिबारबाट भने मौसममा सुधार देखिनेछ । यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकैदिन झन्डै ३ डिग्री सेल्सियस घटेको छ ।
आइतबार ४.५ डिग्री मापन भएको काठमाडौंको न्यूनतम तापक्रम सोमबार १.६ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम भने १.५ डिग्रीले बढेको छ ।
सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री सेल्सियस पुगेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पुस २१ गते (सोमबार)
दिउँसोः देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू–भागमा आंशिक बदली रहनेछ । पश्चिम र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
पुस २२ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने पूर्वी भू–भागमा आंशिक बदली रहने छ । देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
पुस २३ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी खालको हिमपात हुने सम्भावना रहेको छ ।
रातिः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यमदेखि भारी खालको हिमपात हुने सम्भावना रहेको छ ।




प्रतिक्रिया