इरानविरुद्ध अमेरिकाको निर्णय अन्तर्राष्ट्रिय मान्यताविपरित : चीन

इरानविरुद्ध अमेरिकाको निर्णय अन्तर्राष्ट्रिय मान्यताविपरित : चीन


एजेन्सी – इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका छन् ।

ग्लोवल टाइम्सका अनुसार, प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति–सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ ।’ उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियरसम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराए ।

इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आएको पनि सुआङले उल्लेख गरे । अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौताबाट हात झिकेको थियो ।

सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्रा्िष्ट्रय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताए । ‘जहाँसम्म अन्तर्राष्ट्रिय मामिलाको कुरा हो । चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्षमा छ’ उनले भने, ‘हिंसाले समाधान दिँदैन ।’