काठमाडौँ – अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।
इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।
दुई देशबीच युद्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवनसमेत सङ्कटमा पर्ने देखिएपछि नेपाल सरकारले सुरक्षा दिने र आपत् परेको खण्डमा तत्काल फिर्ता ल्याउने पहल थालेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको छ । मन्त्री ज्ञवालीले सबै निकायसँग लगातार सम्पर्क गरी त्यहाँको अवस्थाको जानकारी लिइरहनुभएको छ ।
परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले भन्नुभयो, “परेका बेला तत्काल उद्धार गरी ल्याउन सक्ने वातावरण र व्यवस्था गरिराख्न भन्नुभएको छ, त्यहाँ रहेका नेपालीको यकिन गरी सम्पर्कमा रहन भन्नुभएको छ ।” इराक र इरान दुई देशमा वैधानिक रूपमा काम गर्न जाने अनुमति छैन तर पनि अवैधानिक रूपमा थुप्रै नेपाली त्यस क्षेत्रमा कामका लागि रहेका छन् ।
इरान–अमेरिकाबीच युद्धको अवस्था उत्पन्न भएमा त्यहाँ रहेका नेपालीलाई कसरी नेपाल फिर्ता ल्याउने भन्ने कसरत नेपाल सरकारले गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई देशबीच भनाभनको अवस्था हो, त्यो युद्धमा परिणत भइहालेमा त्यहाँ रहेका नेपालीको सुरक्षा गर्नु सरकारको दायित्व हो, त्यहीअनुसार केही छलफल भएको छ ।”यो समाचार राजधानी दैनिकमा छ ।




प्रतिक्रिया