मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर – पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उनको अन्त्येष्टि गरिएको छ ।

झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउछन् ।

सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोगेका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउँथे ।

घाँटीमा ट्युमर भएका उनलाई छ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो । उपचार गर्न नपाउँदै उनको निधन भएको छ । सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन् । उनी माइली छोरीसँग बस्दै आएका थिए ।

निरन्तर पार्टीमा समर्पित सतालसिंह झापावासी तथा मेचीनगरका एक होनहार कम्युनिष्ट आन्दोलनका योद्धा रहेको प्रदेशसभा सदस्य गोपाल बुढाथोकी बताउछन् ।