काठमाडौं – हिमपात र हिमपहिरोका कारण अन्नपूर्ण आधारशिविर नजिक देउराली र हिम्कु केभको बीचमा हराइरहेका ४ जना कोरियाली र ३ जना नेपाली गाइडको अवस्था अझै पनि अज्ञात नै रहेकाे छ।
अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका नेपाली र विदेशी गरी डेढ सयजनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्। हराइरहेका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन्।
यसैगरी हिमपहिरोमा हराइरहेका तीन नेपालीमध्ये सरोज परियारको मात्र नाम खुलेको छ। बाँकी दुईको परिचय खुल्न बाँकी छ। उद्धारमा खटिएको हेलिकोप्टरले अन्नपूर्ण आधार शिविर, देउरालीतिर भएकाहरुलाई छोम्रोङ झारिरहेको छ ।
हिमपातले शिविरबाट निस्कन नसकेका पदयात्री र पदप्रदर्शकलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा ल्याई सकिएको प्रशासनको भनाई छ । उद्धारको लागि टानले पनि हेलिकप्टर तयार पारेर राखेको बताएको छ ।




प्रतिक्रिया