काठमाडौं – गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहीन भएकी छन् ।
दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् ।
नगरपालिकाका मेयर रत्नबहादुर शाहीले पछिल्लो एक महिनायता मेयर शाही सम्पर्कविहीन भएको बताए । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन,’ मेयर शाहीले भने ।
उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’
मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।
उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ ।
योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन् ।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वा्चित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाट निवाचित हुन् ।




प्रतिक्रिया